दाङ— विवाह गर्न भनेर घरबाट भागेर निस्केकी दाङ देउखुरीकी एक युवतीको २ महिनापछि कंकाल भेटिएको छ। २ महिना अघि विवाह गर्न भनेर घरबाट निस्किएकी सतवरीया ५ की २२ बर्षिया हेमा चौधरीको कंकाल सतवरियाको एक खोलामा भेटिएको हो।
वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई उनका प्रेमी बेला ९ करंगाका यमराज परियारले हत्या गरेका हुन्।
प्रहरीका अनुसार हेमा र यमराजको केही समयदेखि प्रेम थियो। सोही क्रममा हेमा गर्भवती भइन्। हेमाले प्रेमी यमराजलाई आफू गर्भवति भएको जानकारी गराइन्। तर उनले हेमामा रहेको गर्भलाई आफ्नो अस्वीकार गरेका थिए। तर हेमाले विवाह गर्न बारम्बार दवाव दिन थालेपछि यमराजले विवाह गर्ने आश्वासन दिएका थिए। सोही अनुसार उनले हेमालाई २ महिना अघि घरबाट निस्कन भने। उनकै आग्रह अनुसार विवाह गर्न निस्केकी हेमालाई यमराज र उनका साथी चैलाही ३ देउपुरका शिवप्रसाद चौधरीले हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण शाहीका अनुसार यमराजले विवाह गर्न बाध्य पार्ने डरले हेमालाई हत्या गरेको खुलेको छ।
'यसले मलाई फसाउँछे भनेर यमराजले हेमालाई मारेको देखिन्छ,'प्रहरी निरिक्षक शाहीले भने 'सतवरियाको खोलामा हेमाको कंकाल भेटाएका छौँ।'
हेमाका परिवारको उजुरीका आधारमा प्रहरीले यमराजलाई नियन्त्रणमा लिएको थियो । हेमाको परिवारले हेमाको र यमराजको प्र्रेम सम्वन्ध बारे थाहा पाएका थिए । यमराजसंगै गएको हुन सक्ने भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको थियो । लामो बयान लिएपछि यमराजले आँफ्नै योजना अनुरुप हेमाको हत्या गरेको स्वीकारेका थिए । खोलामा मारेर फालेको बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार उनिहरुले पूर्व पश्चिम महेन्द्रराज मार्ग देखि ढाई किलोमिटर टाढा जंगल भित्र लगेर मारेको बयान दिएका छन् ।
उनिहरुले तुलसीपुरमा विवाह गर्ने भनेर हेमालाई मोटरसाईकलमा चढाएर लगेका थिए ।
'दाँत सहित बंगारा,हातको हड्डी,करङ पनि भेटियो,'प्रहरी निरिक्षक शाहीले भने 'उसले मारेर विच खोलाामा ढुंगाले च्यापेको रहेछ ।' वर्षामा खोलामा बढेको पानीले हेमाको शवका हड्डिहरु बालुवामा पुरिएको अवस्थामा थिए ।
प्रहरीले हत्या अभियुक्त यमराज र शिव प्रसादलाई मंगलवार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।
विवाह गर्न गएकी युवतीको कंकाल भेटियो | प्रेमीले हत्या गरेको हुनसक्ने अनुमान