प्रचण्ड र बाबुरामले अनिवार्य श्रम गर्नुपर्ने एमाओवादीमा प्रस्ताव !!!

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मले हरेक महिनामा एक दिन श्रम गर्नुपर्ने भएको छ ।

पार्टीको स्थानीय समिति बैठकमा कोषाध्यक्ष हरिबोल गजुरेलले २० बुँदे रुपान्तरणको प्रस्ताव पेश गरेका छन्, जसमा नेताहरुको आवास, जीवनशैलीदेखि आर्थिक पारदर्शिताका विषय उल्लेख छ । ‘यसबारे एक चरण छलफल भयो, भोलि गम्भीर छलफल गरेर अन्तिम रुप दिन्छौं’ एक नेताले भने ।
स्रोतका अनुसार प्रस्तावमा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय सदस्यले महिनामा एक दिन श्रम गर्नुपर्ने उल्लेख छ । ‘यो निःशुल्क पनि हुनसक्छ, सामाजिक काम पनि हुनसक्छ’ स्रोतले भन्यो-’यसका लागि कुनै निश्चित दिन तोकिने छ ।’ त्यस्तै पार्टी अध्यक्षले जिल्ला अध्यक्षसँग सम्वाद गर्ने, जनतासँग भेट्नेसहितका कार्यक्रमको दिनसमेत तोकिनेछ ।
रुपान्तरणको प्रस्तावमा पार्टी अध्यक्ष प्रचण्डको आवासको विकल्प खोज्नुपर्नेमा जोड दिइएको छ । ‘लाजिम्पाट छाड्ने घोषणा भइसकेकाले कार्यान्वयनमा जानुपर्छ । तत्काल अस्थायी र दीर्घकालीनरुपमा स्थायी विकल्प खोज्नुपर्छ’ एक स्थायी समिति सदस्यले भने-’नेताहरुले बुझाएको सम्पत्तिले कुनै ठाउँमा जग्गा किनेर सबै नेताहरुका लागि घर बनाउने विकल्पबारे समेत छलफल भएको छ ।’
प्रस्तावमा सुरुमा नेताहरुले खर्चलाई पारदर्शी बनाउने र क्रमशः सीमा तोक्ने, गाडीहरु निजी बनाउने तर प्रयोग सामूहिक गर्नेसहितका विषय पनि गजुरेलको प्रस्तावमा समेटिएको छ । नेताहरुको आचरण, पारिवारिक सम्वन्ध सुधारमा जोड दिइएको छ भने अनुशासनमा समेत जोड दिइएको छ ।
महराको नेतृत्वमा सचिवालय गठन
स्थायी समितिको बैठकले महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सचिवालय बनाएको छ । जसमा सचिवत्रय वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल, कोषध्यक्ष हरिबोल गजुरेल, कार्यालय मुख्य सचिव हितराज पाण्डे, डोरप्रसाद उपाध्याय र जोगबहादुर महरा रहेका छन् । बैठकले फ्रयाक्सन इञ्चार्ज र जबस मोर्चाका इञ्चार्जहरु समेत तोकेको छ ।

,