घामको दुस्प्रभावबाट सारिरिक सुन्दरता कसरी जोगाउने | जानी रखौ
काठमाडौ, असार ७ - मौसम गर्मीको छ र अहिले घामबाट छाला जोगाउने चुनौती छ, शारीरिक सौन्दर्यप्रति सचेत वर्गलाई । गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न सामान्य हो, तर लापरबाहीपूर्वक घरबाहिर निस्किँदा यही कुरो असामान्य भइदिन्छ ।
त्यसैले, घामबाट छाला जोगाउन घरबाहिर निस्कने बेला सन ब्लक क्रिम वा सन स्क्रिन लोसन लगाउन भुल्नु हुन्न । सन बर्नको लक्षण घामको सम्पर्कमा आएको केही घन्टासम्म देखिँदैन । पूर्ण असर देखिन २४ घन्टासम्म लाग्न सक्छ । छाला रातो हुनु, त्यहाँ छुदा पोल्नु, फोका उठ्नुजस्ता लक्षण सन बर्नका हुन् । कर्ण सुनाउँछन्, 'सन बर्नका कारण ज्वरो आउने, वाक्वाकी लाग्ने पनि हुन सक्छ । यो चाहिँ कडा लक्षण हो ।'
अमेरिकाको इन्भायरोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए) का अनुसार, मानव छालाको भित्रसम्म पुग्ने परावैजनी (यूभी) किरण समयपूर्व नै बुढ्यौली ल्याउन जिम्मेवार मानिन्छ । उमेरसँगै देखिने छालासम्बन्धी परिवर्तनको ९० प्रतिशत कारक सूर्य किरण नै हुने गरेको छ ।
सामान्यतः सन बर्नको लक्षण अस्थायी हुन्छ । तर त्यसको तुलनामा छालामा भएको क्षति स्थायी हुन्छ र छालाको क्यान्सरजस्ता गम्भीर दीर्घकालीन असरसमेत निम्त्याउन सक्छ ।
'सन बर्नले जतिखेर छाला रातो हुन्छ र दुख्न थाल्छ त्यतिखेर क्षति भइसकेको हुन्छ,' कर्ण भन्छन्, 'कडा घामको सम्पर्कमा आएको ६ देखि ४८ घन्टाभित्रको पीडा असहनीय हुन्छ ।'
घामबाट जोगिन मानव शरीरले पनि पहल गरिरहेको हुन्छ । हाम्रो शरीरले प्राकृतिक रूपमै म्यालेनिन तत्त्व उत्पन्न गर्ने गर्छ, घामको दुष्प्रभावबाट जोगिन । तर अति भएपछि त्यसले पनि थेग्न सक्दैन । मानव शरीरको छालाको रंगका लागि म्यालेनिन नै जिम्मेवार हुन्छ । छालाको रंग गाढा हुनु घामबाट जोगिनने एउटा प्राकृतिक उपाय हो । गोरो छाला भएकाहरूमा म्यालेनिन कम हुन्छ र सन बर्नबाट उनीहरू नै बढी पीडित हुने सम्भावना हुन्छ । डा. कर्णका अनुसार, पहाड अर्थात् अग्लो ठाउँका बासिन्दामा सन बर्नको सम्भावना तराईका बासिन्दाको तुलनामा बढी हुन्छ । पहाडमा सूर्य किरण बढी कडा हुनाले यस्तो भएको हो ।
त्यसैले सन बर्नबाट जोगिन गर्मी याममा घरबाहिर निस्किनुपर्दा पानी खान, छाता ओढ्न वा टोपी पहिरिन, हातखुट्टा छोप्ने लुगा लगाउन र सन ग्लास लगाउन भुल्नु हुन्न । सन स्क्रिन लेप गर्न बिर्सिनु हुन्न । डा. कर्णको सुझाव छ, 'सम्भव भएसम्म कडा घाममा बाहिर ननिस्कनु नै राम्रो ।'
सन स्क्रिन कस्तो राम्रो ?
सामान्यतः सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) १५ भन्दा बढी भएको र सबै किसिमको सूर्य किरणलाई रोक्न सक्ने सन स्क्रिन उपयोग
गर्नुपर्छ । सबै खाले सन स्क्रिन सबै किसिमको छालाका लागि उपयुक्त हुँदैनन् । सन स्क्रिन क्रिम वा लोसन अनुहारमा मात्र नभई शरीरका सबै खुला अंगमा लगाउनुपर्छ ।
सन स्क्रिनमा एसपीएफको संख्यामा ध्यान दिनुको अर्थ के हो भने, जति धेरै भयो त्यसले छालालाई क्षतिग्रस्त गर्ने सूर्य किरणबाट त्यति राम्ररी रक्षा गर्न सक्छ ।